दफा
जग्गा दर्ता सम्बन्धी कार्यविधि

(१) यो ऐन लागू भएपछि तोकिएको अधिकारीले तोकिदिएको म्याद भित्र जग्गाधनीले आफूले कमाउन दिएको र किसानले आफूले कमाई राखेको जग्गाको देहाय बमोजिमको विवरण खुलाई आफूसंग जो भएको सबूद प्रमाणको सक्कल वा रीतपूर्वकको नक्कल समेत सामेल राखी सो अधिकारीका समक्ष विवरण पेश गर्नुपर्छ र किसानले रसीद वा अरू लिखतको प्रमाण नपाएको भए त्यसको कारण समेत विवरणमा खुलाउनुपर्छ –
(क) जग्गाधनी र किसानको नाउँ, थर, वतन र नागरिकता,
(ख) जग्गा भएको जिल्ला, तप्पा वा प्रगन्ना, मौजा र
(ग) जग्गाको चारकिल्ला र विगाहा, कठ्ठा र धूर समेतको क्षेत्रफल ।

(२) जग्गाधनी र किसान मध्ये कुनै एक पक्षले मात्र उपदफा (१) बमोजिमको विवरण पेश गरेमा सो उपदफाको म्याद नाघेको मितिले सात दिन भित्र तोकिएको अधिकारीले सो विवरणको सबै व्यहोरा खुलाई तोकिए बमोजिम सूचना प्रकाशित गर्नुपर्छ ।

(३) जग्गाधनी र किसान मध्ये कुनै पक्षले उपदफा (१) बमोजिम पेश गर्नु पर्ने विवरण सो उपदफा (२) बमोजिम सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र पनि पेश नगरेमा अर्को पक्षले पेश गरेको विवरण नै विवरण पेश नगर्ने पक्षको विरुद्धमा अकाट्य प्रमाण मानिनेछ र सो पेश भएको विवरण झुठ्ठा हो वा सो सम्बन्धित कुनै सबूद प्रमाण जालसाजी वा कीर्ते गरी बनाएको हो भन्ने कुराको आधारमा पछि विवरण पेश नगर्ने पक्षको कुनै उजूर वा दावी लाग्ने छैन ।
तर जग्गाधनीले किसानलाई डर त्रास देखाई वा कुनै किसिमको जवरजस्ती गरी विवरण पत्र पेश गर्न दिएको थिएन भन्ने कुराको उजूर परी सो कुरा प्रमाणित भएमा यस उपदफाको कुनै कुरा लागू हुने छैन ।

(४) उपदफा (२) बमोजिम प्रकाशित भएको सूचनाको कुनै व्यहोरामा चित्त नबुझ्ने व्यक्तिले सो सूचना प्रकाशित भएको मितिले एक्काईस दिन भित्र आफूसंग जो भएको सबूद प्रमाण समेत सामेल राखी तोकिएको अधिकारीका समक्ष उजूर गर्न सक्नेछ र कुनै जग्गाको सम्बन्धमा हक बेहक सम्बन्धी खिचौला उठेमा सो अधिकारीले यस उपदफा र उपदफा (१) बमोजिम प्राप्त भएको प्रमाणको साथै सो सम्बन्धी मिसिल कागजात इन्साफका निमित्त दफा ७ बमोजिम नेपाल सरकारद्वारा तोकिएको अदालतमा पठाईदिनु पर्छ ।

तर उपदफा (१) बमोजिम विवरण पेश गर्नु पर्ने व्यक्तिले सो उपदफा वा उपदफा (३) मा तोकिएको म्याद भित्र पेश नगरेमा निजले यस उपदफा बमोजिम उजूर गर्न पाउने छैन ।